टंक कुवर

कैलाली । राणाकालिन गर्भा दरवार संरक्षणको अभावमा जिर्ण वन्दै गएको छ । । प्राकृतिक सौन्दर्यले भरिपूर्ण चुरे गाउँपालिका वडा नं. ४ मा अवस्थित सोे दरवार अहिले संरक्षणको अभावमा जीर्ण बनेको हो । दरबारमा लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ । वि.सं. १९७९ देखि शुरु भई १९८४ मा सम्पन्न सो दरवार बहादुर समशेर राणाले ईट्टा र मासको गाह्राले निर्माण गरेका थिए । गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन् स्थानीय गगन सिंह रजवारले जानकारी दिए । दरवारको स्थिति अहिले नाजुक छ । विभिन्न भाग भत्केका छन् शिलालेखहरु हराएका छन । पूर्ण रुपमा भासिने अवस्थामा छ उनले भने समयमै संरक्षण भएन भने यस भित्र रहेका बाँकी अवशेषहरु पनि रहने छैनन् ।
यो दरवारको छुट्टै पहिचान छ । बहादुर समशेर राणाले निमार्ण पश्चात आफू र परिवार आई एक रात बास बसेको भनाई पनि रहेको छ रजवारले भने । बास बस्दा आफूलाई नसोधी दरवार निर्माण गरेको भन्दै सोही स्थानमा अवस्थित मोहन्याल देउता रिसाउँदा बास बस्न नदिएको किम्बदन्ती पनि रहिआएको उनको भनाई छ ।
संरक्षणमा ध्यान नदिँदा दिन प्रतिदिन भत्किने क्रममा छ । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय संभावना बोकेको राणाकालिन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएको चुरे गाउँपालिका ४ का वडाध्यक्ष कृष्ण मल्लले बताए । नेपाल सरकारले यस दरवारको उचित संरक्षण र सम्बद्र्धन गर्न सके पर्यटकहरुको आकर्षक केन्द्रविन्दु पनि बन्न सक्ने र चुरे गा.पा. का बासिन्दालाई पनि लाभ हुने उनले बताए ।
१० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुईतले सुरुङ समेत बनाइएको छ । जो अहिले पुरिँदै गएको छ । राणा शासकहरू खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।

दशकौं पुरानो राणाकालिन दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने संभावना रहेको छ । ऐतिहासिक महत्व बोकेको दरबारको मर्मत सम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन् ।
चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा राखेको गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताए । उनका अनुसार गर्वादरबार संरक्षणका लागि गाउँपालिकासँग पर्याप्त बजेट छैन् । संरक्षणका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको रोकामगरले बताए ।
दरवार नजिक क्षेत्रमा अवस्थित कम्पास चुली चिरकट्टे डाँडाबाट हिमाल पहाड तराई अवलोकन गर्न सकिन्छ र सोही चुलीको दक्षिणी भागमा पानीका नौ वटा मुल रहेको जसलाई नौमूले पनि भनिन्छ स्थानीय जीवन गुरुङ्गले बताए ।
उत्तरी भागमा आकर्षक तासे पहरो माथि केदार थान, तल दरी छहरो, काल गुफा, बाह्रमासे छहरो र पश्चिमी भागमा देवस्थली गुठी जमिन र अम्खोरे देवी भगवती कालिका धाम र प्राकृतिक निर्मित बाघको आकृति भएको शिला, दक्षिणी भागमा डुम्राकोट गुफा समेत रहेको उनले बताए ।
वरपर छरपष्टिएर रहेका धार्मिक पर्यटकीय स्थलहरु समेत रहेको छ । पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण गर्वा दरवारलाई संरक्षण सम्बद्र्धन गर्न सरकारसंग माग गर्ने जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर थापाले बताए । यसको संरक्षण सम्बद्र्धनका लागि हामी पनि लागिरहेका छौं उनले भने ।
दरवार क्षेत्रमै तेस्रो जिल्ला सभा
त्यसै गरी दरवारलाई रास्ट्रिय रुपमा चिनाउन जिल्ला समन्वय समितिले त्यस क्षेत्रमा तेस्रो जिल्ला सभा पनि सम्पन्न गरेको छ ।
सभाले चुरेको प्रयटकीय स्थलको विकास गर्भादरवारको स्तर उन्नती गरी प्रर्यटकको आर्कषण केन्द्र बनाउने लगाएतका निर्णयहरु गर्दै सम्पन्न भएको सुदूरपश्चिम प्रदेश धनगढी कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर थापाले बताए ।
हामिले सुदूर पश्चिम प्रदेशको समग्रविकासलाई मध्यनजर गर्दै अन्य निर्णयहरु प्नि गरेका छौ उनले भने ।

प्रतिक्रिया दिनुहोस !